नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको कारण भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको बताए । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल कोभिड १९ को संक्रमणका कारण शनिवार बिहान ६ः३५ बजे उनको निधन भएको हो ।

उनलाई कोरोना संक्रमण देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति असार ११ गते बिहीवार राति १० बजे स्थानान्तरण गरिएको थियो ।

साथै यस अघि पनि कोभिड-१९ र क्यान्सरका कारण अस्पतालमा गत जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो।

बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका ५५४ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।

बितेको २४ घण्टामा थप १३६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

उनीहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ हजार ८ सय ३४ जना पुगेका छन् । यसैबीच आज थप एकजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?