क्वारेन्टाइनमा आयुर्वेदिक औषधि र योगाभ्यास

डोटी । क्वारेन्टाइनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान छ बजेदेखि योगाभ्यास सञ्चालन सिकाउन थालिएको हो ।

विभिन्न किसिमका मानसिक तनावबाट मुक्त गराउन योगाभ्यास थालिएको नगरप्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “क्वारेन्टाइनका नागरिक फुर्तिलो होऊन् र जोशजाँगर बढाउन योगाभ्यास गराउन थालेका हौँ, राम्रै भएको छ ।”

आयुर्वेद केन्द्रले चलाएको योगाभ्यासमा स्वस्थ खानपान, योग व्यायाम, प्राणायाम, स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगबारेमा जानकारी दिइने आयुर्वेद स्वास्थ्य केन्द्रका योगगुरु रमेशनाथले बताए। रोगसँग लड्ने क्षमताको विकास गर्दै आत्मबल बढाउन योगाभ्यासको भूमिका महत्वपूर्ण हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका प्रमुख विद्या घिमिरे देउवाले बताए।

भारतले लकडाउन खुकुलो पारेसँगै सुदूरपश्चिमका विभिन्न सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका डोटेलीको क्वारेन्टाइन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताए । योगाभ्याससँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले क्वारेन्टाइनमा राखिएका नागरिकलाई विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि अश्वगन्धाचुर्ण, आमलकिचुर्ण, सितोपलादि चुर्ण र शीलाजित क्याप्सुललगायतका औषधि वितरण गर्न थालेको छ ।

क्वारेन्टाइनमा योगाभ्यास शुरु गर्न थालिएपछि त्यहाँ बसेकाहरु पनि निकै खुशी छन् ।

रोजगारीको सिलसीलामा भारतका विभिन्न ठाउँमा गएका डोटीली कोरोनाको कहरसँगै स्वदेश फर्कने क्रम बढेपछि यहाँका क्वारेन्टाइनमा केही निश्चित समयसम्मका लागि राखिएका नागरिकलाई हौसला दिन तथा स्वस्थ राख्नका लागि योगाभ्यास गराउने अभियान नै थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

जिल्लामा अहिलेसम्म कम्तीमा पनि दई हजार ९६१ जना भारतबाट काम गरी फर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सीमासम्म आएर अलपत्र परेका जिल्लाका नागरिक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँका स्थानीय तहले सीमामै पुगेर उद्धार गरी ल्याउन थालेका छन् ।

दैनिक बिनाजाँच सीमाबाट नागरिकको उद्धार गरी क्वारेन्टाइनमा राखिन थालिएसँगै डोटीमा कोरोनाको चुनौती थपिँदै गएको दिपायलका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “सीमामा अलपत्र परेका नागरिकको उद्धार गर्नु राम्रो हो, तर जाँच नगरी भित्र्याएका कारण ठूलो समस्या आउने निश्चित भएको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?