अझै दुई दिन केही स्थानमा भारी वर्षाको सम्भावना

लोकपथ
49
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका केही स्थानमा भारी तथा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू–भाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

सोमबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्नेछ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार दिउँसो पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । बुधबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षाका कारण पहिरो तथा बाढीको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?