होसीयार ! कोरोना भाइरसको कारण शुक्रबारमात्रै ८६ जनाको मृत्यु, ७ सय २४ पुग्यो मृतक संख्या

शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएपछि डरलाग्दो गरी फैलिएको यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ । संक्रमण सुरु भएपछि एकैदिन यतिका धेरै मानिसको मृत्यु भएका कारण यस रोगबाट मानिसहरु निकै आत्तिएका छन् । किनकी पछिल्लो ‘अपडेटेड’ तथ्यांक भन्छ, यस रोगबाट ३४ हजार ४०० भन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् ।

यी तथ्यांकले मानिसहरु झनै त्रसित छन् ।

चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् । मानिसहरुलाई जहाँतहिँ जान छुट छैन । मास्कको चरम अभाव छ । चीनलाई नेपालले पनि मास्क सहयोग गरेको छ ।

उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित बिमारी भेटिएपछि हजारौं यात्रु जहाजमै रोकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ ।

चीनको बुहान प्रान्तबाट विकराल रुपमा फैलिँदै गएको ‘नोबेल कोरोना भाइरस’ मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो। चीनसँगै नेपाल, अमेरिका,सिंगापुर, फ्रान्स,भियतनाम, जापान र दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु पहिचान गरिएको छ।

चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । संक्रमीत त्यहि प्रान्तबाट आएका नेपाली हुन् ।

एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ ।

होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पु(याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लिखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने निर्देशन दिइएको हो ।

नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारी नाकालगायत उत्तरी सीमा नाकाहरु समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने निर्देशन दिइएको प्रवक्ता तामाङले जानकारी दिए।

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ ः गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

तस्वीर : एजेन्सी

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

 

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ? 

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?