भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

छिमेकी राष्ट्र चीनमा यतिवेला कोरोना भाइरस को महामारी फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको यस भाइरसको प्रकोप चीनको बेइजिङ हुँदै ताइवान, मकाउमा मात्र नभएर दक्षिण कोरिया, थाइल्याण्ड, अमेरिका लगायतका राष्ट्रमा पनि उग्र आतंक मच्चाइरहेको छ ।

यतिसम्म कि यस भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रवार सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको हो । महाशाखाका अनुसार चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनलाई टेकु अस्पतालमा छुट्टै कक्ष स्थापना गरी उपचार गरिँदै छ ।

महामारीमा अहिलेसम्म चीनमा मात्रै ८० जनाको मृत्यु भइसकेको छ भने ३ हजार जनामा यस रोगको पहिचान भइसकेको छ ।

आखिर यति छोटो समयमै यस्तो तीव्र गतिमा फैलिएको यस भाइरसको इतिहास के हो ? सर्वप्रथम कहाँ देखापरेको थियो यो भाइरस ?

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ ः गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ ।

ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु-याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षण ?

भाइरसका लक्षणहरु यस प्रकार छन् :

ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ?

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् ।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

यसअघि कहाँकहाँ फैलिएको थियो कोरोना भाइरस को महामारी ?

सन् २००२ मा कोरोना भाइरसले फैलाएको महामारीकै कारण चीनमा ७ सय ७४ जनाको ज्यान गएको थियो ।

‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम’ (सार्स) नामक श्वासप्रश्वासको रोगका कारण यतिका व्यक्तिले ज्यान गुमाएका थिए । सार्स पनि कोरोना भाइरसकै कारण लाग्ने रोग हो ।

त्यस्तै सन् २०१२ मा साउदी अरेयिबा बाट शुरु भएको ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम’ नामक महामारीले साउदी सँगसँगै मध्यपूर्वी अफ्रिका, एसिया र यूरोपका देशहरुमा ८ सय ५८ जना व्यक्तिको ज्यान लिएको थियो ।

सन् २०१५ मा कोरियामा पनि सोही महामारीको प्रकोप देखियो । त्यसपश्चात् भने यसको महामारी देखिएको थिएन ।

तर, यही वर्ष जनवरीको शुरुवातमा विश्व स्वास्थ्य सङ्गठनले ‘२०१९ नोबेल कोरोना भाइरस’ नामक नयाँ कोरोना भाइरसको बारेमा पत्ता लगाएको छ । उक्त भाइरसको महामारीमा ८० जनाले ज्यान गुमाइसकेका छन् ।

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?