चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

काठमाडौं । चीनमा देखिएको एक प्रकारको नँया भाइरसबाट संक्रमित हुने मानिसको संख्या बढेको छ ।

चीनको वुहान शहरमा नयाँ भाइरसबाट तीन जनाको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ। चिनियाँ अधिकारिका अनुसार यो रहस्यमय भाइरसले बिरामी हुनेको संख्या अहिले २०० पुगेको छ । चीनका धेरै सहरमा फैलिएको यो भाइरस अब चीनको वुहान सहरमा पनि देखिएको छ ।

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। चन्द्रमान पात्रो अनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ ।

वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले समेत बताएका छन् । चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन्।

चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन्। सीफूड विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको थियो ।

के हो कोरोनाभाइरस ? 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।

लक्षण के हुन्रु ? 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ? 
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?