वर्ष ०७६ मा नेपालमा भएका अत्यासलाग्दा महिला हिंसाका घटना : आफ्नैबाट असुरक्षित छन् छोरीहरु

के नेपाल महिलाको लागि सुरक्षित छ ?

काठमाडौं । वर्षौंदेखि हकअधिकारका लागि लडिरहेका छन् महिला । अस्तित्वका लागि संघर्ष गरिरहेका छन् । तिनै संघर्षरत महिलाहरुका लागि यो विश्व कतिको सुरक्षित छ ? विश्वको कुरा छोडौं, हाम्रो देश कतिको सुरक्षित छ ? जुन घटनाका बारेमा हामी लेख्दैछौं, तिनलाई आधार मान्ने हो भने के साँच्चै महिलाले निर्धक्क सास फेर्न पाएका छन् त भन्ने प्रश्न उठ्नु अस्वभाविक नहोला ।

२०७६ सालमा देशमा भएका यी महिला हिंसाका केही घटना जसले महिला सुरक्षामा उठाउँछ प्रश्न :

मुस्कान खातुनमाथि एसिड आक्रमण :

स्कुल जाँदै गर्दा वीरगन्जकी १४ वर्ष मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । एसिडले उनको अनुहार, छाती र हातलाई गम्भीर चोट पु¥याएको थियो । शरीरका साथै उनका कैयन् सपना पनि त्यस दिन तेजाबको रापमा जले ।

आखिर यस्तो कलकलाउँदो उमेरमा उनलाई एसिड प्रहार गर्ने को थिए र त्यसको कारण के थियो भन्ने कुराले झनै अचम्ममा पार्नसक्छ ।

आक्रमणकारी थिए १६ वर्षीया माजिद आलम र उनका साथी सम्साद आलम । कारण थियो, प्रेमप्रस्ताव अस्वीकार गर्नु । योजना माजिदको थियो, सम्सादले उनलाई सघाए । अहिले दुवैजना प्रहरीको नियन्त्रणमा छन् । भलै उनीहरु कानूनबाट उम्किन सकेनन् तर, के कानूनले चाहिँ मुस्कानको पीडालाई न्याय गर्न सकेको छ ?

२०७६ जेठ १ गते, आफ्नै श्रीमान्द्वारा एसिड आक्रमण

राजधानीको कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि उनैका श्रीमान् विष्णु भुजेल,३६,ले एसिड प्रहार गरे । जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको आफ्नो घरमा पु¥याए । त्यसपछि मात्र जेनीले आफू श्रीमान्को कान्छी श्रीमती भएको थाहा पाइन् र अलग्गै बस्न थालिन् । छुट्टिएर बस्न चाहँदासमेत श्रीमान्ले फोन गर्ने, धम्क्याउने गर्थे जेनीलाई ।

यही क्रममा एक साँझ भुजेलले जेनीलाई भेटेर केही महत्त्वपूर्ण कुरा गर्न मन लागेको भन्दै कालोपुल सडकमा बोलाए र एसिड आक्रमण गरेर फरार भए । प्रहरीले उनलाई नियन्त्रणमा त लिइसकेको छ तर, जेनीको घाउमा अझै बेस्सरी चहर्याइरेछ । उनको घाउ कुनै मल्हमले पूर्न सक्दैन सायद ।

दुई वर्षीया बालिका ६५ वर्षीय वृद्धद्वारा बलात्कृत

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई ६५ वर्षीया वृद्धले बलात्कार गरेको खबर पनि उत्तिकै पीडादायी छ । सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङले खेल्ने क्रममा आफ्नो घरसम्म आएकी ती बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरे ।

तस्वीर गुगल

आफ्नै पिताद्वारा बलात्कार… 

यो घटना बाराको हो । एउटा पिताले विवाहित छोरीलाई धम्काउँदै पटकपटक बलात्कार गर्ने गर्थे ।

पीडित युवतीको २०७५ माघमा विवाह भइसकेको थियो । तर, घरमा कुरा नमिल्दा उनी माइतीमा बस्दै आएकी थिइन् । त्यहीदौरान आफ्ना पिताले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगिन् ती युवती ।

३८ वर्षीया अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेका छन् ।

११ वर्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृत 

बागलुङमा ११ वर्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृत भइन् । ६१ वर्षीय चन्द्रबहादुर सुनार बलात्कारपछि फरार भएका थिए ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको थियो ।

पीडित पक्षले उजुरीदिन नचाहनुको एउटा कारण उनीहरुको आर्थिक अवस्था पनि थियो पीडितकै घरमा पुगेर । प्रहरीले पीडित परिवारलाई सदरमुकामसम्म ल्याएदेखि घर पु-याउनेसम्मको खर्चको जिम्मेवारी लिएपछि मात्र उनीहरु उजुरी दिन तयार भएका थिए ।

घरायसी विवादका क्रममा श्रीमतीको हत्या

सामान्य घरायसी विवादका क्रममा खोटाङका सिताराम राईले खुकुरी प्रहार गरी श्रीमती देविका राईको हत्या गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी देविकाको अस्पताल पु-याउँदा नपु-याउँदै उनको मृत्यु भएको थियो ।

तस्विर: गुगल

दाइजोमा मोटरसाइकल नपाउँदा श्रीमतीको हत्या 

दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा रौतहट राजपुर नगरपालिका–७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या भएको थियो ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै छोरीलाई कुटपिट गर्दथे ।

कहिले प्रेमप्रस्ताव स्वीकार नगरेकोमा एसिडको रापमा जल्नुपर्ने त कहिले आफ्नै पिता वा पतिद्वारा बलात्कृत हुनुपर्ने, कहिले आफ्नै काका र मामाको यौनदुराचारिताको शिकार हुनुपर्ने त कहिले आफ्नै परिवार मानेर भित्रिएको घरको लोभ पूरा गर्न नसकेर आगोमा सल्कनुपर्ने । नेपालका महिलाको नियतिमा अझै पनि परिवर्तन आउन सकेको छैन । तर, महिला सुरक्षाकै कुरा गर्ने हो भने नेपाल एकमात्र देश होइन जहाँ अझै पनि महिलाले महिला भएर जन्मिएकोमा त्रसित भएर बाँच्नुपर्छ ।

कुन मुलुक सबैभन्दा असुरक्षित ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचिमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दसौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यस प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको हो ।

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ?

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्या सामान्य कुरा हो । यो देशमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढि महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्क छ ।

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढि अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् । र, ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गरिन्छ । १५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसालाई पनि सामान्य रुपमा लिइन्छ ।

सिरिया

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिला नम्बरमा पर्ने आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ ।

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँका ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ । त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् ।

साउदी अरेबिया

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । कालो कपडाको सहाराले साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् ।

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् ।

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन रहेको छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ ।

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवति महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् ।

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेका छन् । असुरक्षित गर्भपात, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ ।

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।

हरेक देशमा आ–आफ्नो किसिमको कानून छ । तर पनि महिला हिंसा अन्त्य भने हुन सकेको छैन ।

नेपालको सन्र्दभमा कुरा गर्ने हो भने महिलाहरु अझै पनि पूर्णरुपमा सुरक्षित छैनन् । नेपालमा कानूनतः पछिल्लो समय महिलाका निमित्त केही अधिकारहरु सुनिश्चित गरिएका छन् तर अझै पनि महिला हिंसाका घटनाहरुमा कमी भने आएको छैन ।

लैङ्गिक आधारमा पाउने अधिकारलाई नजरअन्दाज गर्ने हो भने पनि के नागरिकको हैसियतमा महिलाले पाउने अधिकार यति नै हो त ? देशका हरेक क्षेत्रमा समान दर्जा दिएर मात्र महिला हिंसा कम हुने हो या त्यो दर्जासम्म पुग्न सक्षम बनाउने अवसरहरु सिर्जना गरिदिने हो ? यो गम्भीर विषयमा अब पनि नसोचे कहिले सोच्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?