बेड नं ४०६ : पीडितलाई देखेपछि लाग्छ, एसिड छ्याप्नेलाई झुन्ड्याइयोस् !

‘सरकार कि मारियोस् कि मार्न दिइयोस्’

प्रेरणा तिमल्सिना /काठमाडौं- कीर्तिपुर अस्पतालको आइसियू कक्षको बेड नं ४०६ मा ढुकढुकी गनिरहेकी छिन् १४ वर्षीया मुस्कान खातुन ।

उनको दुवै हातलाई पट्टी बाँधेर झुन्ड्याइएको छ । पातलो ब्ल्याङ्केटले ढाकिएको छ कम्मरमुनिको भाग । कम्मरमाथि देखिने भाग सबै पट्टीले नै छोपिएको छ । पट्टी नबाँधिएको एक मात्र भाग हो उनको अनुहार जसको दाहिने पाटामा एसिडले जलाएर बसेका टाटाहरु देखिन्छन् । हेर्दा लाग्छ उनी गहिरो निन्द्रामा छिन् । यस निन्द्रबाट बिउँझिएपछि फेरि कहिल्यै उनका आँखामा चैनको निन्द्रा पर्छ/पर्दैन त्यो भने समयले नै बताउने छ ।

गएको शुक्रवार वीरगंजमा भएको एसिड आक्रमणमा परेकी मुस्कान खातुनको ३ घण्टे लामो शल्यक्रियापछि आइसियूमा देखिएको दृश्य हो यो । ढोकाबाट सिधै आँखा पर्ने बेड नं ४०६ मा राखिएको छ उनलाई । यो त्यही बेड हो जहाँ मैले रिर्पोटिङकै क्रममा रौतहटकी १८ वर्षीया सम्झना दासलाई देखेकी थिएँ आजभन्दा ठीक ११ महिना १८ दिन अघि । अझै विक्षिप्त अवस्थामा । र, उनी यसैगरी गहिरो निन्द्रामा निदाएकी थिइन् । भलै उनी आफ्नो निन्द्राबाट फेरि कहिल्यै फर्किनन् तर, मुस्कान फर्किनेछिन् भन्दै डाक्टरहरुले आफूलाई आश्वासन दिइरहेको बताउँछिन् मुस्कानकी आमा सहनाज खातुन ।

उमेरले खासै पाकी होइनन् सहनाज तर, व्यवहारिक जीवनले उनलाई ३० वर्षको उमेरमै धेरै कुरा सिकाएको छ । वीरगंजको सानो गाउँमा पतिले झ्यालढोका बनाएर कमाएको पैसाले ५ सन्तान हुर्काएर घरव्यवहार धानेकी थिइन् उनले । गाउँले जीवनको धपेडी र गरिबीले गाँजेको उनको शरीरलाई यस घटनाले झन् निर्बल बनाएको जस्तो देखिन्थ्यो । आँखा वरिपरि बसेका काला घेराले सङ्केत गरिरहेका थिए घटना भएदेखि निन्द्रा र भोक उनले बिर्सिएकी छिन् ।

मुस्कान सहनाजकी माइली सन्तान हुन् । मुस्कानमाथि एक दिदी र मुनि २ भाइ र १ बहिनी छन् । माइली सन्तान भएपनि उनको कुरा र व्यवहार ठ्याक्कै जेठो सन्तानको जस्तै भएको बताउँछिन् उनकी आमा सहनाज । ‘ऊ फरक थिइ, सबैसँग बोल्थी र एकैछिनमा घुलमिल हुन्थी,’ यसो भन्दै गर्दा शायद सहनाजले मुस्कानलाई सम्झिन् । एकाएक उनका आँखा भरिए ।

सहनाजले बताएअनुसार मुस्कान लजाउने, डराउने केटीमा पर्दैनथिन् । नयाँ मान्छसँग घुलमिल हुन उनलाई खासै समय लाग्दैनथ्यो । आँखामा राख्दा पनि नबिझाउने किसिमको व्यक्तित्व थियो उनको । ‘अहिले ऊ यहाँ भएको भए तपाईसँग अघि नै बोलिसक्थी,’ सम्झदै सहनाज बोलिन् ।
व्यवहारमा जति फरासिली थिइन् मुस्कान पढाइमा उत्तिकै अब्बल । केही थान सपना सजाएकी थिइन् उनले । आमाबाबालाई सुखी जीवन दिने त्यही थानमा पर्ने एउटा सपना थियो उनको । बेलाबेला भन्ने गर्थिन्, ‘म त धेरै पढ्छु, जागिर खान्छु, दिदीजस्तो छिट्टै बिहे गर्दिनँ, तपाईंहरुलाई पाल्छु ।’ मुस्कानलाई नाच्न पनि एकदमै मनपथ्र्यो । स्कुलमा आयोजना हुने नृत्य प्रतियोगिता र दौड प्रतियोगिता उनको सहभागिताविना अधुरा हुन्थे ।

सहनाजको कुरा सुन्दा लाग्यो मुस्कान सहनाज र पिता रसुल आलमका लागि खम्बा थिइन् जो बुढेसकालमा आफ्नो सहारा बन्नेछ भन्ने कुरामा विश्वस्त थिए उनीहरु ।
जेठी छोरी शवानाको विवाहपश्चात् मुस्कान नै घरकी ठूली छोरी भएकी थिइन् । आफ्नी छोरीको बोलिरहने अनि बोल्दा हाँसिरहने बानी खुब मनपथ्र्यो सहनाजलाई । ‘सधैं मुस्कुराइरहन्थी मेरी मुस्कान तर, अहिले कति दर्दमा होली ऊ, कति दुखेको होला उसलाई,’ ममताका दुई थोपा आँखाबाट तप्पक झार्दै उनले भनिन् ।

अप्रेसन थिएटरबाट निकालेपछि छोरीको होस आउने पर्खाइमा थिइन् सहनाज । कहिले जुस किन्न त कहिले पानी लिन दौडिरहेकी थिइन् । रसुल भने कहिले पत्रकारसँग कुरा गर्न, कहिले भेट्न आएका मानिसहरुसँग भलाकुसारी गर्न त कहिले फोन संवादमा व्यस्त देखिन्थे । पीडाले उनी विक्षिप्त देखिन्थे । आर्थिक सहयोग जुटाइरहेका उनीहरुलाई यतिवेला हरेक व्यक्ति ‘मद्दत’को स्वरुपजस्तै लागिरहेको हुँदो हो ।

यो सबै दृश्य नियालेर बसिरहेकी मुस्कानकी जेठी दिदी शवाना खातुन, (१८) मौन थिइन् । आइसियू कक्षबाट निस्किएपछि उनी निकै गम्भीर मुद्रामा केही सोचिरहेजस्तो देखिन्थिन् । आफ्नो दुवै हात, छाती र अनुहारतिर सङ्केत गर्दै छेउमा बसेकी मामाकी छोरीसँग मुस्कानको अवस्थाका बारेमा बयान गरिरहेको जस्तो लाग्यो ।
हो, रहेछ । उनीसँगको छोटो कुराकानीबाट मुस्कानका बारेमा थप जानकारी हात लाग्यो । ‘एसइइ पास गरेर प्लस टु क्लियर गर्छु र शहर गएर जागिर खाँदै अझै पढ्छु भन्थी उ,’ शवाना भावुक बनिन् ।

‘भविष्यमा के बन्ने विचार थियो उनको ?,’ मैले प्रश्न गरें ।
‘त्यो चाहिँ भन्दैनथी, भन्यो भने चाहेको कुरा पूरा हुँदैन भन्ने लाग्थ्यो उसलाई,’ जवाफमा उनले सुनाइन् ।
एसिड आक्रमणको यो घटना हाम्रा लागि हरेक दिन समाचारमा आउने अपराधिक क्रियाकलापको एउटा उदाहरणजस्तो लागेपनि पीडित परिवारका निमित्त र स्वयम् मुस्कनका निमित्त भने यो केवल ‘घटना’ होइन । छोरी होसमा आएपछि उसको प्रतिक्रिया कस्तो हुन्छ ? उसलाई सामान्य जीवनमा फर्काउन सकिन्छ होला ? एसिडले जलाएको उनको आत्मविश्वास फेरि कहिले पलाउँछ ? र, यस्तो निर्मम अपराध गर्ने अपराधीलाई उसको कर्तुतअनुसारको सजाय मिल्छ ? यस्ता अनेकन प्रश्नसँग आन्तरिक द्वन्द्वमा रुमलिइरहेको छ मुस्कानको परिवार ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार एसिड प्रहार गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
त्यस्तै एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा दायर गर्ने प्रावधान छ । यो सजाय फितलो भएकै कारण आजभोलि एसिड आक्रमणका घटना धेरै भएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।

यता मुस्कानको परिवार अपराधीलाई कुनै हालतमा पनि केही वर्ष जेल सजायपश्चात रिहा गर्ने मनशायमा छैन । ‘५–१० वर्षमात्रै जेलमा राख्ने हो भने बरु जेलमा हाल्नै पर्दैन खुला छोडिदिए हुन्छ,’ मुस्कानका ठूलाबुबाका छोरा साजदले भने ।
‘कि फाँसी हुनुपर्छ कि उमरकैद’, मुस्कानकी दिदी शवानाको भनाइ यही छ । त्यस्तै, आफ्नी छोरीले सहेजति पीडा अपराधीलाई पनि दिनुपर्ने मुस्कानका आमाबुबाको माग छ ।

उमेरले ५० बसन्त पार गरिसकेका ‘ठूलोबुबा’ पर्ने रामबाबु पाशवानले आफ्नो प्रेमप्रस्ताव स्वीकार नगरेको झोंकमा एसिड छ्यापेका थिए रौतहटकी सम्झना दासमाथि । अपराधी फरक भएपनि सम्झना र मुस्कान दुवैको घटनामा ‘कारण’ एउटै देखिन्छ ।
मुस्कानमाथि भएको एसिड आक्रमणका योजनाकार १६ वर्षीया माजिद आलमले पनि आफ्नो प्रेमप्रस्ताव नस्वीकारेका कारण यस्तो कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रेम प्रस्ताव अस्वीकार गरेकोमा होस् या त सामान्य आन्तरिक विवादका कारण रिसिइवी साँध्नलाई आजभोलि एसिड आक्रमण गर्नु सामान्य भएको छ अपराधिक मानसिकता भएका व्यक्तिहरुका लागि । सजाय कम भएकै कारण यस्तो घटनामा वृद्धि भएको हो भने अब सोच्नैपर्छ । आखिर कहिलेसम्म एसिडले जलाउने हजारौं सम्झना र मुस्कानका सपनाहरु ?

एसिड आक्रमणसँग सम्बन्धीत यी समाचार पढ्नुभएको थियो ? तलको लिंक क्लिक गर्नुहोस्

प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?