दाइजोमा मोटरसाइकल नपाएको निहुँमा श्रीमतीको हत्या, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

रौतहट । दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ । दाइजोको निहुँमा जिल्लाको राजपुर नगरपालिका–७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या भएको हो ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाई छ । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएको र त्यो हत्या नै भएको उहाँको दाबी छ ।
उहाँका अनुुसार जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले मोटरसाइकल पनि माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेका थिए ।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?