दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी

काठमाडौं । इन्टरनेटको पहुँच भएमा जुनसुकै काम पनि एकै ठाउँमा बसेर गर्न सम्भव छ । किनमेल देखि बैंकिङ कारोबार, पैसा आदनप्रदान, रिचार्ज लगायत हरेक सानाठूला कामलाई इन्टरनेटले सजिलो बनाइदिएको छ । इन्टरनेटका यही असङ्ख्य उपयोगिताहरुमध्ये ‘अनलाइन सपिङ’ पनि एक हो ।

पछिल्लो समय नेपाली बजारमा ‘अनलाइन सपिङ’ को ट्रेन्ड ह्वात्तै बढेजस्तो देखिन्छ । दुई प्रमुख कारण : व्यस्तता र सौखिन जीवनशैली । आजकल उपभोक्तालाई दोकान चहार्दै सामान किन्ने फुर्सद हुँदैन । फुर्सद भएपनि अनलाइन सपिङ विकल्पमा हुँदाहुँदै आफ्नो समय र उर्जा खर्च गर्नु झन्झटिलो लाग्छ । स्वभाविक हो ।

घरमै बसेर आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउँदा कसलाई पो नमज्जा लाग्ला र ? तर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला ? अनलाइन सपिङले विश्वसनीयता कायम गर्न सकिरहेको छ ? सकिरहेको छ भने किन दिनप्रतिदिन अनलाइन सपिङ गर्दा ठगिएको घटनाहरुका बारेमा सुनिन्छ ? सकिरहेको छैन भने, ठगीका बावजुत पनि किन अनलाइन सपिङको क्रेज बढिरहेको छ ? यस्ता अनगिन्ती प्रश्नहरुको खातले उपभोक्तालाई पिरोलिरहेको छ ।

यद्यपी, चाडवाडले च्याप्पै समातेको बेला अनलाइन सपिङ मार्फत् किनमेल गर्नेको सङ्ख्या घटेको छैन । यता ठगिनेको सङ्ख्या पनि उस्तै । किनमेल गर्ने र ठगिने दुवै पक्ष समानांतर रुपमा चलिरहेका छन् ।

कसरी ठगिन्छन् ग्राहक ?

पहिलो कुरा त, अनलाइन सपिङमार्फत् खरिद गर्ने प्राय सामानहरु आफैमा गुणस्तरहीन हुन्छन् । तर कुनै अवस्थामा गुणस्तरीय ब्रान्डकै सामान भएपनि कमसल सामाग्रीहरु प्रयोग गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिन्छ । त्यसैगरी, उच्च ब्रान्डको ‘डुप्लिकेट’ प्रोडक्ट निर्माण गरेर कम दाममा बेचिन्छ । आफ्नो रोजाइको ब्रान्डको सामान कम दाममा पाउँदा उपभोक्ता पनि मख्ख पर्दै किन्छन् तर, उक्त सामान प्रयोग गरेपछि मात्र वास्तविकता बाहिर आउँछ । उपभोक्ताहरु विशेष गरेर कपडा, जुत्ता, ब्यागहरुमा ठगिइन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान ‘रियल’मा वेग्लै रङ्ग, बनावट, गुणस्तरको हुन सक्छन् ।

अनलाइन सपिङ गर्न नजानेको पो हो कि ?

अनलाइन सपिङ कसरी गर्ने भनेर उचित जानकारी नभएकाले पनि ठगिने सम्भावना निम्त्याएको हुनसक्छ । इन्टरनेट जति उपयागी छ उति नै घातक पनि । त्यसैले आफूलाई ठग्न, लुट्न च्याउसरि जुर्मुराएका अनलाइन सपिङ स्टोरको पहिचान बेलैमा गर्न जरुरी छ । अनलाइन सपिङ गर्नुअघि ध्यान दिनुपर्ने केही टिप्सहरु यस प्रकार छन् :

– आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउने । पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको राख्ने ।

– आफूले सामान खरिद गर्न लागेको स्टोर कतिको सुरक्षित छ भनेर अगाडि नै सर्तक हुने । शंकास्पद साइटहरुबाट टाढै रहने ।

– साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्ने । नाम चलेका, धेरै वर्षदेखि सेवा पु¥याउँदै आएका साइटहरुको मात्र प्रयोग गर्ने ।

– सामान किन्नु अघि भुक्तानी गर्ने, रद्द गर्ने, फिर्ता गर्ने र रिफन्ड गर्ने नियमहरु राम्रोसँग बुझ्ने ।

– सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पु¥याउने ।

– साइटको विश्वसनीयताका बारेमा ढुक्क भएपछि मात्र वित्तीय लेनदेनको कारोवार अघि बढाउने ।

– पहिलो पटक अनलाइन सपिङ गर्दै हो भने सकेसम्म डेबिट, क्रेडिट कार्डको प्रयोग नगर्ने । नगदमार्फत् भुक्तानी गर्ने ।

– अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्ने ।

– आफूले पैसा तिरिसकेपछि त्यसको रसिद, किनेको सामानको बिल लगायत विविध सामाग्री प्रमाणस्वरुप सुरक्षित राख्ने ।

– स्प्यामर र फिशरले विभिन्न खराब सफ्टवेयरमार्फत् व्यक्तिगत जानकारीमा हस्तक्षेप गर्ने भएकाले अनलाइन किनमेलको प्रक्रिया पूरा गरिसकेपछि सबै वेब ब्राउजर कुकीजहरू क्लियर गर्ने र पिसी बन्द गर्ने ।

सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ । नेपालका केही भरपर्दा अनलाइन सपिङ साइटहरु :

दराज डट कम

स्थापना हुँदा केमु डट कमका नामले परिचित दराज डट कमअहिले नेपालकै उत्कृष्ट अनलाइन सपिङ स्टोरका रुपमा स्थापित छ । यहाँ इलेक्ट्रोनिक्स, सौन्दर्य र फेसनसँग सम्बन्धित सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् ।

हाम्रो बजार डट कम

हाम्रो बजारले व्यापार गर्ने एउटा प्ल्याटफर्म सिर्जना गरिदिएको छ । यहाँ जो कोहीले पनिआफ्ना नयाँ, पुराना सामाग्रीहरु बेच्न सक्छन्।सरल वाक्यमा भन्दा, हाम्रो बजार बिक्रेता र ग्राहकबीचको पुल हो । यहाँ इलेक्ट्रोनिक्स, अटोमोबाइल लगायतका सामाग्रीहरु उपलब्ध छन् । बिक्रेता र ग्राहकले एकअर्कासँग सम्पर्क गरेर सामानको मूल्य निर्धारण गर्छन् ।

नेप बे डट कम

यस साइटले सामान किन्ने वा बेच्ने दुवै खालको सेवा प्रदान गर्दै आएको छ । यहाँ कपडा, जुत्ता, पुस्तक, इलेक्ट्रोनिक्स, एक्सेसरिज, फर्निचर्स लगायत विभिन्न सामाग्रीहरु उपलब्ध छन् । नेप बे डट कम किनमेलका लागि मात्र नभएर समाचार, घटनाक्रम, डिल, सामुदायिक फोरम, पोल, क्विज, भिडियो र प्रतियोगिताहरूको लागि पनि लोकप्रिय प्ल्याटफर्म हो । साथै, यस स्टोरले किराना खरिदारी सुविधा पनि प्रदान गर्दछ । फेसबुकमा करिब ३ लाख लाइक्स भएको यस साइटलाई धेरै राम्रा समीक्षा गरिएको छ ।

मुञ्चा डट कम

मुञ्चा डट कम मुञ्चा हाउसको अनलाइन संस्करण हो । यद्यपी, यसलाई अनलाइन साइटकै रूपमा वर्गीकृत गर्न सकिन्छ । यहाँ लेडिज तथा जेन्ट्सका कपडा, जुत्तादेखि लिएर एक्सेसरिज, घरेलु उपकरण आदिजस्ता आवश्यक सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । यसको फेसबुक पेजमा करिब साढे २ लाख लाइक्स छन् ।

सस्तो डिल डट कम

कपडा, इलेक्ट्रोनिक्स, एक्सेसरिज अदिका लागि सस्तो डिल नेपालकै उत्कृष्ट अनलाइन स्टोरमध्ये एक मानिन्छ । सामान अर्डर गरिसकेपछि आफूले प्राप्त गरुन्जेलको प्रक्रियाका बारेमा ग्राहकलाई सूचित गराउनु अर्थात् ‘प्रोडक्ट ट्रयाक’ गर्ने सस्तो डिलको यूनिक फिचर हो ।

यसका अतिरिक्त भकारी डट कम, फुच्चे डट कम, भाटभटेनी अनलाइन डट कम, सोचेको डट कम आदिजस्ता साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।

यो पनि पढ्नुहोला : दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ रु उपयुक्त हुन सक्छन् यी साइटहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?