काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएपछि बन्द भएको सीजी मोटर्सको थापाथली शोरुम पुनः सञ्चालनमा आएको छ । सोमबार सीजी मोटर्सले एक कार्यक्रमको आयोजना गरी शोरुम पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
नेपालमा विद्युतीय कारको आयात र पहिचान बनाउन प्रमुख भूमिका खेलेको सीजी मोटर्सले लामो समयको मर्मतपछि सोमबारबाट थापाथली शोरुम पुनः सञ्चालनमा ल्याएको हो । उक्त शोरुममा विद्युतीय कार ‘आयन वाई’ लाई शोरुमको मुख्य आकर्षणको कारका रूपमा अगाडि सारेको छ ।
कम्पनीका अनुसार थापाथली शोरूम पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक ईभी गाडीको अनुभव, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सबै सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ । कार्यक्रममा आयन ब्रान्डका विभिन्न मोडेलका कारहरू प्रदर्शन गरिए पनि ‘आयन वाई’ कारलाई कम्पनीले आकर्षणको केन्द्रमा राखेको छ ।

सीजी मोटर्सले यसअघि नै अन्तर्राष्ट्रिय बजारमा चर्चित आयन ब्रान्डलाई नेपाली बजारमा भित्राएको थियो । कम्पनीका अनुसार नयाँ आयन वाईमा कारमा ६१ दशमलव ५४ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ भने एक सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फूल चार्जमा यो गाडीले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
नेपाली बजारका लागि आयन वाईको मूल्य ५८ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । पछिल्लो समय नेपालमा मध्यम तथा प्रिमियम सेग्मेन्टका ईभीप्रति आकर्षण बढिरहेका बेला आयन वाईलाई प्रतिस्पर्धी विकल्पका रूपमा हेरिएको छ ।

सीजी मोटर्सले आयन कारलाई चीनमा गुणस्तरका हिसाबले अग्रणी ईभी ब्रान्डमध्ये एक भएको दाबी गरेको छ । उच्च प्रविधि, सुरक्षा मापदण्ड तथा वातावरण मैत्री डिजाइनका कारण आयनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बिस्तार गरिरहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सका अनुसार ग्राहकले थापाथलीस्थित शोरूममै पुगेर आयन वाईबारे थप जानकारी लिनुका साथै टेस्ट ड्राइभ समेत गर्न सक्नेछन् । नेपालमा ईभी गाडीको बजार बिस्तार भइरहेका बेला सीजी मोटर्सले आफ्नो पुरानो शोरूमलाई पुनः सञ्चालनमा ल्याएर एकै स्थानबाटै सबै सेवा दिने तयारीसमेत गरेको छ । यसले आयन ब्रान्डका कारलाई नेपाली बजारमा प्रतिस्पर्धी बनाउन बजार रणनीतिका लागि समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया