प्रधानमन्त्रीको प्राथमिकता अहिले काममा छ, तत्काल विदेश भ्रमणको योजना छैन : सस्मित पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको हाल कुनै पनि देश भ्रमणको योजना नरहेको बताएका छन् । उनले सरकार अहिले पहिलो १०० दिनको कार्यसम्पादन र लक्ष्य पूरा गर्न केन्द्रित रहेको स्पष्ट पारे ।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे भइरहेको चर्चालाई अस्वीकार गर्दै प्रधानमन्त्रीको ध्यान पूर्ण रूपमा सरकारको काममा केन्द्रित रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विदेश भ्रमणसँग प्रधानमन्त्रीको भ्रमण जोडेर गरिएको चर्चाबारे उनले त्यो नितान्त निजी वा पार्टीगत विषय भएको उल्लेख गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ । सभापतिज्यूको भ्रमण निजी वा पार्टीगत हुन सक्छ, त्यससँग प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’

बजेट निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले अधिकांश मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम अर्थ मन्त्रालयमा पेश गरिसकेको बताए । उनका अनुसार बजेट निर्माण कार्य व्यवस्थित ढंगले अगाडि बढाइएको छ ।

सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने विषयमा उनले आवतजावतलाई व्यवस्थित र सहज बनाउन नयाँ कार्यविधि लागू गरिएको स्पष्ट पारे ।

उनले भने, ‘कुन गेटबाट, कति बजे र कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज र व्यवस्थित बनाउने उद्देश्यले कार्यविधि बनाइएको हो ।’

आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वा नगर्ने विषयमा मन्त्रिपरिषद्मा हालसम्म कुनै विशेष छलफल नभएको उनले बताए ।
आवश्यकताअनुसार प्रधानमन्त्रीले उपयुक्त समयमा सम्बोधन गर्न सक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?