दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? उपयुक्त हुन सक्छन् यी साइटहरु

काठमाडौं। दशैँ नजिकिएसँगै प्राय नेपालीहरु किनमेलमा जुटेका छन् । दशैँमा नयाँ लुगा लाउने चलनले गर्दा पनि यसवेला वर्षको अन्य समयको तुलनामा बढी सरसामान र लत्ताकपडाको किनमेल हुन्छ । यद्यपि, किनमेल गर्ने तरिका भने पहिलाको भन्दा केही फेरिएको छ आजभोलि । सामान किन्न दोकान चहार्नुपर्दैन । सामान आफै हाम्रो दैलोसम्म आइपुग्छ ।

घरमै बसेर आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउँदा कसलाई पो नमज्जा लाग्ला र ? तर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला ? अनलाइन सपिङले विश्वसनीयता कायम गर्न सकिरहेको छ ? सकिरहेको छ भने किन दिनप्रतिदिन अनलाइन सपिङ गर्दा ठगिएको घटनाहरुका बारेमा सुनिन्छ ? मनमा यस्ता प्रश्न उठ्नु स्वभाविक हो ।

यद्यपी, सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ । नेपालका केही भरपर्दा अनलाइन सपिङ साइटहरु :

दराज डट कम

स्थापना हुँदा केमु डट कमका नामले परिचित दराज डट कमअहिले नेपालकै उत्कृष्ट अनलाइन सपिङ स्टोरका रुपमा स्थापित छ । यहाँ इलेक्ट्रोनिक्स, सौन्दर्य र फेसनसँग सम्बन्धित सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् ।

हाम्रो बजार डट कम

हाम्रो बजारले व्यापार गर्ने एउटा प्ल्याटफर्म सिर्जना गरिदिएको छ । यहाँ जो कोहीले पनिआफ्ना नयाँ, पुराना सामाग्रीहरु बेच्न सक्छन्।सरल वाक्यमा भन्दा, हाम्रो बजार बिक्रेता र ग्राहकबीचको पुल हो । यहाँ इलेक्ट्रोनिक्स, अटोमोबाइल लगायतका सामाग्रीहरु उपलब्ध छन् । बिक्रेता र ग्राहकले एकअर्कासँग सम्पर्क गरेर सामानको मूल्य निर्धारण गर्छन् ।

नेप बे डट कम

यस साइटले सामान किन्ने वा बेच्ने दुवै खालको सेवा प्रदान गर्दै आएको छ । यहाँ कपडा, जुत्ता, पुस्तक, इलेक्ट्रोनिक्स, एक्सेसरिज, फर्निचर्स लगायत विभिन्न सामाग्रीहरु उपलब्ध छन् । नेप बे डट कम किनमेलका लागि मात्र नभएर समाचार, घटनाक्रम, डिल, सामुदायिक फोरम, पोल, क्विज, भिडियो र प्रतियोगिताहरूको लागि पनि लोकप्रिय प्ल्याटफर्म हो । साथै, यस स्टोरले किराना खरिदारी सुविधा पनि प्रदान गर्दछ । फेसबुकमा करिब ३ लाख लाइक्स भएको यस साइटलाई धेरै राम्रा समीक्षा गरिएको छ ।

मुञ्चा डट कम

मुञ्चा डट कम मुञ्चा हाउसको अनलाइन संस्करण हो । यद्यपी, यसलाई अनलाइन साइटकै रूपमा वर्गीकृत गर्न सकिन्छ । यहाँ लेडिज तथा जेन्ट्सका कपडा, जुत्तादेखि लिएर एक्सेसरिज, घरेलु उपकरण आदिजस्ता आवश्यक सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । यसको फेसबुक पेजमा करिब साढे २ लाख लाइक्स छन् ।

सस्तो डिल डट कम

कपडा, इलेक्ट्रोनिक्स, एक्सेसरिज अदिका लागि सस्तो डिल नेपालकै उत्कृष्ट अनलाइन स्टोरमध्ये एक मानिन्छ । सामान अर्डर गरिसकेपछि आफूले प्राप्त गरुन्जेलको प्रक्रियाका बारेमा ग्राहकलाई सूचित गराउनु अर्थात् ‘प्रोडक्ट ट्रयाक’ गर्ने सस्तो डिलको यूनिक फिचर हो ।

फुडमान्डु डट कम

दशैँ नयाँ कपडा र सरसामान किन्ने चाड मात्र नभएर परिवारजनसँग बसेर मीठामीठा परिकार खाने चाड पनि हो । त्यसैले घरमै बनेका मासुका परिकार खाएर थकित जिब्रोलाई छुट्टै स्वाद दिने भरपर्दो माध्यम हो फुडमान्डु । फुडमान्डु खाना डेलिभर गर्ने नेपालकै पहिलो अनलाइन साइट हो । यसको वेबसाइट वा एपको माध्यमबाट आफूलाई मनपरेको रेस्टुरेन्टबाट खाना अर्डर गर्न सकिन्छ ।

यसका अतिरिक्त भकारी डट कम, भाटभटेनी अनलाइन डट कम, सोचेको डट कम आदिजस्ता साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?