उड्न लागेको विमानमा मौरी बसेपछि…

एजेन्सी । उड्न लागेको विमानमा मौरीको झुण्ड बसेपछि यात्रुले दुई घण्टाभन्दा बढी समय सास्ती खेप्नु परेको छ । एयर इन्डियाको एउटा विमानमा आइतबार भारतको कोलकातास्थित विमानस्थलमा मौरीले हमला गरेको हो । उडानका लागि रनवेमा विमान पुगिसकेपछि मौरीको झुण्ड विमानको अघिल्लो भागमा आएर बसेपछि पाइलटले उडान रोकेका थिए । विहान पौने १० बजे अगरतलाका लागि जान लागेको विमानमा अचानक मौरीले आक्रमण गरेपछि १२ बजे मात्र उड्न सकेको थियो ।

मौरी बसेकै अवस्थामा विमान उडाउँदा इन्जिनभित्र मौरी पसेर जोखिम निम्तिन सक्ने भएपछि पाइलटले ‘एयर कन्ट्रोल रुम’मा जानकारी गराएका थिए । उक्त विमानलाई फेरी ‘ट्याक्सी वे’ मा फिर्ता ल्याएर दमकलको सहायतामा मौरी भगाइएको बताईएको छ ।

प्राविधिकहरुले विमानको इन्जिनभित्र मौरी पसे–नपसेको जाँच गरेपछि मात्र उक्त विमान निर्धारित गन्तव्यतर्फ उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान निर्धारित समयभन्दा तीन घण्टाभन्दा बढी ढिलोगरी प्रस्थान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?