काण्डै काण्डमा फसेको सरकारले लामखुट्टे पनि मार्न सकेनः रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसकेको टिप्पणी गर्नुभएको छ । कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले डेंगु प्रभावित बिरामीले अस्पतालहरु भरीभराऊ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

‘डेंगुको यत्रो प्रकोप फैलिएको छ हस्पिटलहरु भरिन थालिसके,’ नेता पौडेलले भन्नुभयो, ‘सरकारलाई काम गर्ने मेसो नै छैन ।’

सरकार एनसेल काण्ड, वाइडबडी काण्ड लगायतका काण्डै काण्डहरुमा फसेको नेता पौडेलको भनाई छ ।

अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको नेता पौडेलको आरोप छ । ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ पौडेलले भन्नुभयो, ‘यत्रो भ्रष्टाचार भइ रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’

एनसेल काण्डको फैसलामा अदालत पनि प्रभावमा परेको देखिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?