चिराइतोको मूल्यमा गिरावट, बजार व्यवस्थापन गर्न किसानको माग

लोकपथ
0
Shares

भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा कारोबार हुने गरेको थियो ।

यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको राउतले जानकारी दिए । उत्पादन बढे पनि बजार मूल्य घट्दा किसानले अपेक्षाअनुसार आम्दानी गर्न नसकेको उनको भनाइ छ ।

राउतका अनुसार उनले यस वर्ष हालसम्म करिब २०० मन चिराइतो सङ्कलन गरिसकेका छन् । आफ्नै घरमा समेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको उनले बताए ।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी प्रभावित भएको र त्यसको असर बजार मूल्यमा परेको राउतको भनाइ छ । बजारमा माग र बिक्रीको अवस्था कमजोर हुँदा उत्पादन बढे पनि किसानले उचित मूल्य पाउन नसकेको उनले बताए ।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेती गर्नुका साथै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रका धेरै किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । यसको खेती तथा सङ्कलनबाट किसानले अतिरिक्त आम्दानी गर्दै आएका छन् । चिराइतोको सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् ।

तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यसैले स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन गर्न र उचित मूल्य पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रका किसानको आम्दानी बढाउन सकिने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?