ट्रम्प, सी र पुटिनबीच भेट, त्रिपक्षीय बैठकको तयारी

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको त्रिपक्षीय बैठकलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ ।

चीनको शेन्जेनमा जारी ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई बिहीबार चिनियाँ राष्ट्रपति सीले स्वागत गरेका थिए ।

सम्मेलनस्थलमा ट्रम्प र पुटिनबीच पनि भेट भएको थियो । तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि अन्य विश्व नेताहरूसँग सामूहिक तस्बिर खिचाएका थिए ।

तीन शक्तिशाली देशका राष्ट्रपतिबीच हुन लागेको बैठकमा परमाणु हतियार नियन्त्रण, इरानसँगको तनाव, विश्व व्यापार र रुस–युक्रेन युद्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच छुट्टै द्विपक्षीय वार्ता भएको थियो । वार्ताका क्रममा दुवै नेताले अन्तर्राष्ट्रिय परिस्थितिमा उतारचढाव आए पनि चीन र रुसबीचको सम्बन्ध बलियो रहेको बताएका थिए ।

सीले चीन र रुसबीचको सम्बन्धलाई कठिन परिस्थितिमा पनि नडगमगाउने सम्बन्धका रूपमा व्याख्या गरेका थिए । उनले विश्वमा स्थायित्व कायम गर्न र बहुध्रुवीय विश्व व्यवस्था निर्माण गर्न दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै, पुटिनले पनि कठिन अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद चीनसँगको राजनीतिक सहकार्य निरन्तर अघि बढिरहेको बताएका थिए । विश्व व्यवस्थालाई कुनै एक देशको प्रभावमा मात्र सीमित नराखी धेरै शक्तिराष्ट्रको भूमिका रहने बनाउनुपर्ने उनको भनाइ थियो ।

एपेक सीईओ सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले व्यापारिक प्रतिबन्ध, भन्सार शुल्क र आर्थिक नाकाबन्दीको आलोचना गरेका थिए । यस्ता कदमले आर्थिक विकासमा असर पारे पनि प्रतिस्पर्धी देशहरूको आर्थिक वृद्धि रोक्न नसक्ने उनले बताएका थिए । साथै, अमेरिका, चीन र रुसका राष्ट्रपतिबीचको प्रस्तावित बैठकबाट महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एसिया भ्रमणमा निस्कनुअघि तीन नेताबीच परमाणु हतियार, इरान, युक्रेन युद्ध र व्यापारका विषयमा छलफल हुने बताएका थिए । उनले रुस र युक्रेन दुवैतर्फ ठूलो मानवीय क्षति भइरहेको भन्दै युद्ध अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका थिए । ट्रम्पका अनुसार युद्धका कारण दुवै देशमा हरेक महिना २५ हजार मानिसको ज्यान गइरहेको छ ।

युक्रेन युद्ध र परमाणु हतियार नियन्त्रण मुख्य चासो

त्रिपक्षीय बैठकमा युक्रेन युद्धको विषयलाई विशेष महत्वका साथ हेरिएको छ । तर, युक्रेनलाई नै सहभागी नगराई अमेरिका, चीन र रुसले युद्धबारे निर्णय गर्न सक्ने भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ ।

त्यस्तै, अमेरिका र रुसबीचको परमाणु हतियार नियन्त्रणसम्बन्धी न्यू स्टार्ट सन्धि यसै वर्ष समाप्त भएपछि परमाणु हतियार नियन्त्रणको विषय थप जटिल बनेको छ ।

अमेरिकाले चीनलाई पनि परमाणु हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन चाहेको छ । तर चीनले अमेरिका र रुसको तुलनामा आफ्नो परमाणु हतियारको संख्या निकै कम रहेको भन्दै यस्तो वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

चीनले भने तीन देशका राष्ट्रपतिबीचको प्रस्तावित बैठकलाई विश्व शान्ति र रणनीतिक स्थायित्व कायम गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

एपेक सम्मेलनका क्रममा हुन लागेको यो भेटवार्ताले विश्व व्यापार, सुरक्षा र प्रमुख शक्तिराष्ट्रबीचको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?