काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
भेटका क्रममा उनले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बताए ।
त्यस्तै, बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
नेपालको आगामी विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउन, विद्युत् प्रसारण तथा निकासी क्षमता बढाउन र समग्र विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए । बढ्दो विद्युत् माग र औद्योगिक आवश्यकतालाई सम्बोधन गर्न उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
ऊर्जा सुरक्षाका लागि जलविद्युत्मा मात्र निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको समेत सन्तुलित विकास गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । मौसमी विद्युत् उपलब्धताको व्यवस्थापन, ऊर्जा भण्डारण, ग्रिडको लचकता र आन्तरिक तथा औद्योगिक मागअनुसार भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न रणनीतिक ऊर्जा मिश्रण आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।
भेटवार्तामा विकास साझेदारसँगको सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउने मन्त्रालयको योजनाबारे पनि जानकारी गराइएको थियो । विकास साझेदारका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न विषयगत कार्यक्षेत्र, संस्थागत जिम्मेवारी, वित्तीय तथा प्राविधिक सहयोग, कार्यान्वयनका चरण र समयसीमासहितको समन्वय संयन्त्र निर्माण गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले विकास साझेदारसँग छरिएर रहेका सहकार्यलाई एकीकृत गर्दै स्पष्ट लक्ष्य र मापनयोग्य उपलब्धिमा आधारित बनाउनुपर्नेमा जोड दिए ।
भेटमा नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई समयसीमा र उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा समेत छलफल भएको छ ।
विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आर्थिक तथा सञ्चालनगत स्थायित्वलाई आगामी सहकार्यका प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया