फास्ट ट्रयाकमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्ने सरकारको चेतावनी

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार मकवानपुरको महादेवटार सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले संशोधित कार्यतालिकाअनुसार काम नगर्ने निर्माण कम्पनीलाई अब थप समय नदिइने बताएका हुन् ।

उनले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण फास्ट ट्रयाक आयोजना नै आलोचनाको विषय बनेको बताए । पटक–पटक समय थप्दा र विभिन्न सुविधा दिँदा पनि काममा प्रगति नभएकाले सरकार अब कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।

मन्त्री लम्सालका अनुसार आयोजना अन्तर्गतका प्याकेज नम्बर ९ ए, ९ बी र ८ बी लगायतमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन ।

निर्माण कम्पनीहरूलाई पटक–पटक चेतावनी दिने, काम छिटो गर्न ताकेता गर्ने, स्थलगत अनुगमन गर्ने तथा पत्राचार गर्दा पनि उनीहरूले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको उनले बताए ।

‘अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार छैन,’ उनले भने ।

सरकारले तोकिएको समय र कार्यतालिकाअनुसार काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरी फास्ट ट्रयाक निर्माणलाई गति दिने नीति लिएको मन्त्री लम्सालले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?