डिजिटल विप्रेषण सेवा विस्तार गर्न माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै नेपालमा ट्यापट्याप सेन्डमार्फत विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ ।

सम्झौतापछि विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबीएल रेमिट’ मार्फत नगद भुक्तानी लिन सकिनेछ भने माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले सहज रूपमा नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार, दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यसले बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवर्द्धनमा समेत सहयोग पुर्‍याएको छ ।

माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै आएको जनाएको छ ।

बैंकका अनुसार यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ । यसबाट सेवाग्राहीले आधुनिक, सुरक्षित र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका १९४ एटीएम सञ्चालनमा रहेका छन् भने १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहितका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?