सांसद गेलालको फोटो मोह : बालेन र रविसँगको उत्कृष्ट तस्बिर दिनेलाई पुरस्कार !

लोकपथ
0
Shares

काठमाडौं । अहिले संसद बन्द छ । संसद बन्द भए पनि सामाजिक सञ्जालमा माननीयका गतिविधिले चर्चा भने निरन्तर भइरहेका छन् ।

उदयपुर क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद पारसमणी गेलाल अहिले चर्चामा छन् । उनले व्यक्तिगत प्रयोजनका लागि फोटो प्रतियोगिता नै आयोजना गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रको प्राकृतिक, धार्मिक सांस्कृतिक क्षेत्रको प्रचारका लागि प्रतियोगिता आयोजना गरेका भने होइनन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र रास्वपा सभापति रवि लामिछानेसँगको आफ्नो तस्बिर उपलब्ध गराउनेलाई पुरस्कार नै दिने घोषणा गरेका हुन् ।

‘फोटो तथा भिडियो प्रतियोगिताः अब खिच्ने मात्र होइन, नगद पुरस्कार पनि जित्ने !’ भन्दै आगामी फागुन १२ गते फोटो तथा भिडियो प्रतियोगिता हुन लागेको हो । आफूसँग प्रधानमन्त्री बालेन र सभापति लामिछानेसँगको फोटो र भिडियो ०८२ फागुन २१ को निर्वाचनका बेला खिचिएको हुनुपर्ने बताइएको छ ।

यसरी फोटो तथा भिडियो पठाउनेमध्ये उत्कृष्ट तीन जनालाई विजेता घोषणा गरी उचित पुरस्कार दिइने समेत बताइएको छ ।

सांसद गेलालको सचिवालयले सार्वजनिक गरेको मापदण्ड अनुसार त्यसरी फोटो हुनेले सचिवालयसम्म ती फोटा र भिडियो पठाउनुपर्नेछ ।

आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्ने र आफ्नो सिर्जनात्मकता र प्रतिभा प्रदर्शन गर्नुपर्नेछ । फोटो तथा भिडियो क्यामेरा वा मोबाइल जे बाट खिचेको भए पनि मान्य हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?