आज राष्ट्रिय कर दिवस : को-को बने २०८१/८२ का उत्कृष्ट करदाता ?

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने १९ विधाका करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाता कम्पनी, संस्था र व्यक्तिलाई सम्मान गरेका हुन् ।

यस वर्ष सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।

सरकारले यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएकोमा यस वर्ष विधा बढाएर १९ पुर्‍याएको हो । विभिन्न क्षेत्रबाट राज्यलाई पुर्‍याएको कर योगदानका आधारमा करदाताको छनोट गरिएको हो ।

वस्तु निर्यात गर्ने कम्पनीतर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीतर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल सम्मानित भएका छन् ।

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल उत्कृष्ट करदाता बनेका छन् ।

पर्यटन क्षेत्रतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि र ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि सम्मानित भएका छन् ।

वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्म भएका करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट बनेको छ । ५० करोड रुपैयाँसम्म कारोबार भएका करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सम्मान पाएको छ ।

रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ राजबहादुर शाह सर्वाधिक कर दाखिला गर्ने करदाता बनेका छन् ।

त्यसैगरी, नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण बुझाउने र कर दाखिला गर्ने कम्पनीतर्फ हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ ।

विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्मान पाएका छन् । लघुवित्त वित्तीय संस्थातर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता बनेको छ ।

सरकारले करदातालाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्ने र कर प्रणालीप्रति जिम्मेवार बनाउने उद्देश्यले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

नेपालमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । करबाट प्राप्त रकम विकास निर्माण, पूर्वाधार विकास, सार्वजनिक सेवा र राज्य सञ्चालनमा खर्च हुने भएकाले सरकारले कर सहभागिता बढाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?