काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । बैंकको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले वित्तीय तथा आर्थिक अनुशासन कायम राख्न र अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाल बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा प्रदान गर्नुपर्ने बताए । उनले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न पनि जोड दिए ।
बैंकको कामकारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न र तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले डिजिटल बैंकिङ विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गरेको यस संस्थाले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै मुलुकको औद्योगिक तथा व्यापारिक क्षेत्रको विकास र विस्तारमा पनि बैंकको भूमिका उल्लेखनीय रहेको उनको भनाइ थियो ।
उनका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ भने ग्राहक सङ्ख्या २९ लाख २४ हजार पुगेको छ ।
बैंकमा हाल तीन हजार ६०० कर्मचारी कार्यरत छन् । बैंकले २५० वटा एटीएम सञ्चालनमा ल्याएको छ भने मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको छ । हाल बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया