काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५७.८२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष कम्पनीको बीमाशुल्क आम्दानी घट्नुका साथै लगानीबाट हुने आम्दानीमा समेत कमी आएपछि नाफा प्रभावित भएको हो ।
कम्पनीको खुद आर्जित बीमाशुल्क आम्दानी ४१ करोड ९८ लाख रुपैयाँभन्दा बढीले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा घटेर ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीले कुल ७२ करोड ९९ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट २० करोड ५६ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ७९ करोड ६० लाख ६९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा खुद दाबी खर्च ४५ करोड ७५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन खर्च १२ करोड २७ लाख ४० हजार रुपैयाँ र कर्मचारी लाभ खर्च ३ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल खर्च ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ पुगेको छ । खर्च कटाएपछि करअघिको नाफा १४ करोड १ लाख ७ हजार रुपैयाँ रहेको छ । करबापत ३ करोड ६४ लाख २९ हजार रुपैयाँ छुट्याएपछि कम्पनीको खुद नाफा १० करोड ३६ लाख ७८ हजार रुपैयाँ कायम भएको हो ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षमा घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ ३ अर्ब २५ करोड रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८ पैसा रहेको छ ।
हिमालयन रिइन्स्योरेन्सले स्वदेशी बजारमा आफ्नो व्यवसायलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति विस्तार गर्ने योजना बनाएको छ । विदेशबाट पुनर्बीमा व्यवसाय बढाउन आवश्यक पहल भइरहेको कम्पनीले जनाएको छ ।
आर्थिक मन्दीका कारण समग्र बीमा क्षेत्र प्रभावित भएको कम्पनीको भनाइ छ । हाल कम्पनीको अधिकांश व्यवसाय स्वदेशी बजारबाट आउने भएकाले आर्थिक मन्दी कायम रहेमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो नबनाउँदासम्म अल्पकालीन असर पर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ को सोल्भेन्सी अनुपात ३५२ प्रतिशत रहेको छ । आफूले स्वीकार गरेको जोखिमको सुरक्षाका लागि पर्याप्त रेट्रोसेसन अर्थात् पुनर्बीमाको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।
यसैगरी, सेयर बजारमा लगानीसम्बन्धी कारोबारबाट उठ्न बाँकी रकम असुल गर्न कम्पनीले भृकुटी स्टक ब्रोकिङ कम्पनीविरुद्ध कानुनी मुद्दा दायर गरेको छ । कम्पनीले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, प्रचलित कानुन तथा नियामकीय निर्देशन पालना गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया