पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। पार्टी नछाड्ने तर चुनावमा अन्य दलका उम्मेदवारलाई भोट दिने काम बेइमानी भएको उनको भनाइ छ ।

‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन । भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ उनले भने ।

ओलीले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले नै पार्टीविरुद्ध जालझेल र षड्यन्त्र गर्ने गरेको भन्दै असन्तुष्टि जनाए। अब यस्तो गतिविधि गर्नेहरूलाई कारबाही गर्न ढिलाइ नगर्न उनले निर्देशन दिए ।

उनले जिल्ला तहबाटै पार्टीविरुद्ध गतिविधि गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न र त्यसको विवरण केन्द्रमा पठाउन निर्देशन दिए। केन्द्रले पनि प्राप्त विवरणका आधारमा छानबिन गरेर आवश्यक निर्णय गर्ने उनले बताए ।

‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस् । त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस्। स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइएमा कारबाही गरिहाल्ने गर्नुपर्छ,’ ओलीले भने ।

उनले पार्टीभित्रको मनमुटाव र असमझदारी हटाएर एकताबद्ध भएर अघि बढ्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । जिल्ला, पालिका र वडा तहसम्म बैठक गरेर पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै ओलीले सङ्गठनका गतिविधि प्रभावकारी बनाउन निर्देशन दिए । जनतामाझ पुगेर पार्टीको विचार, सदाचार र इमानदारी स्थापित गर्न उनले आग्रह गरे ।

फागुन २१ गतेको चुनावमा एमालेका सङ्गठित सदस्यको सङ्ख्याभन्दा कम मत आएकोप्रति पनि ओलीले असन्तुष्टि जनाए । उनले अब हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर सङ्गठन विस्तार र पार्टीका गतिविधिमा सक्रिय हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?