गण्डकी । पोखराको लेकसाइड क्षेत्रमा अवैध गतिविधि गर्ने ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना, प्रहरीसँग विवाद गर्ने पाँच जना, हतियार बोकेर हिँड्ने दुई जना, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई जना र जुवाजन्य खेल झण्डीबुर्जा खेलाउने एक जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, सोही अवधिमा ८१ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । एक जना चालकलाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको छ ।
बाँकी २३ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा अवैध गतिविधि बढ्दै गएपछि प्रहरीले गत कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरु गरेको थियो ।
यस अभियानअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेकसाइड क्षेत्रमा हुने झैझगडा, आपसी विवाद र पर्यटकमाथि दुर्व्यवहारजस्ता गतिविधि नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया