कोप-३१ मा सहभागी भएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।

तुर्कीएको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका मन्त्री खनाल शनिबार नेपाल फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनमा नेपालको तर्फबाट हिमाल र पर्वतीय मुलुकका मुद्दा उठाएको बताए । यस वर्षको सम्मेलनले पर्वतीय मुलुकका समस्यालाई कुनै न कुनै रूपमा सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ ।

सम्मेलनमा मन्त्री खनालले पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै, जलवायु परिवर्तनसँग जुध्न पर्वतीय क्षेत्रलाई आवश्यक पर्ने आर्थिक सहयोग र विशेष योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तानलगायतका देश तथा अन्तर्राष्ट्रिय संस्थासँग मिलेर पर्वतीय क्षेत्रको जलवायु अनुकूलनका लागि आर्थिक सहयोगसम्बन्धी उच्चस्तरीय कार्यक्रम पनि आयोजना गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, जलवायु वित्तमा न्यायोचित पहुँच, प्राकृतिक विपद्बाट भएको क्षतिको क्षतिपूर्ति, प्रविधि हस्तान्तरण र पूर्वसूचना प्रणालीलाई बलियो बनाउने विषय उठाएको थियो ।

नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे वैज्ञानिक अध्ययन, प्रभावित समुदायको क्षमता विकास र क्षेत्रीय सहकार्य बढाउन पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

नेपालको सहभागिताको मुख्य उद्देश्य हिमाली मुलुकले भोगिरहेका जलवायुजन्य समस्या विश्व समुदायसमक्ष पुर्‍याउनु र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनु रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा मन्त्री खनालले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

कोप सम्मेलन जलवायु परिवर्तनका असर कम गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न आवश्यक नीति तथा योजना तय गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो । यसमा विश्वका विभिन्न देशका सरकार प्रमुख, मन्त्री, वैज्ञानिक तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?