काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तयारी समितिको बैठक बसेको थियो । बैठकमा महासचिव शङ्कर पोखरेलले भेलाले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्ने बताए ।
पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे समीक्षा गरिएको थियो ।
बैठकमा सङ्गठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए ।
भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका सङ्गठनका प्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ ।
ढकालका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, ५५ प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, सङ्घीय संसद् तथा राष्ट्रियसभाका ३५, प्रदेशसभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १०६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसङ्गठनका नौ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी थिए ।
काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया