भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

लोकपथ
28
Shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र दुर्घटनाको कारणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिएको जनाएको छ ।

काठमाडौं–सर्लाही रुटमा सञ्चालन हुने मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन बिहीबार अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।

मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय हुन् भने एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको छ । उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशनसमेत दिइसकिएको छ ।

घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।

यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ । सरकारले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?