काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम बढेपछि तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ ।
उक्त उपकरणमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
निक्षेप संकलनका लागि ब्याजदर खुला बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो आवश्यकता र रणनीतिअनुसार फरक–फरक ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्नेछन् । संकलित निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम दुई खर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम भने १० करोड रुपैयाँले भाग जाने गरी तोक्नुपर्नेछ ।
निक्षेप संकलन उपकरण बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ । समान ब्याजदरमा धेरै संस्थाको प्रस्ताव परेमा माग गरिएको कुल रकमको सीमाभित्र रहेर समानुपातिक आधारमा रकम बाँडफाँट गरिनेछ ।
यस उपकरणमा लगानी गरिएको रकमलाई बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात (एसएलआर) र सामान्य तरलता अनुपात गणना गर्दा भने उक्त रकम समावेश गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम तानेर बजारको तरलता व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया