गरिमा विकास बैंकले मंसिर ५ गते ‘गरिमा रोड रेस’ आयोजना गर्ने

लोकपथ
14
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना बढाउने र धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष प्रतियोगितामा खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुषका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुषका लागि ५ किलोमिटर दौड हुनेछ ।

कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी तथा भुक्तानी सेवा प्रदायक संस्थामा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३५ हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, कर्पोरेट विधामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिने बैंकले जनाएको छ ।

खुलातर्फको १० किलोमिटर दौड बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालय परिसर पुगेर पुनः बालुवाटारमै आएर सम्पन्न हुनेछ ।

त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै आएर सम्पन्न हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क तिरेर नाम दर्ता गराउन सक्नेछन् ।

बैंकले स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा खेलकुदले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतियोगिताबारे थप जानकारी लिन बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?