डलर साट्ने बहानामा लुटपाट, ठगीपछि सीम फेर्ने सुजनको ‘त्यो धन्दा’

प्रहरीलाई नै गोली हानेपछि जवाफी फायर गरी समातिएका थिए सुजन

लोकपथ
133
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट नियन्त्रणमा लिएको हो ।

डलर देखाएर विभिन्न स्थानमा लुटपाट गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गर्न खोजेको थियो । सो क्रममा तामाङले प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि प्रहरीले गोली चलाएको काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिनुअघि चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि नियन्त्रणमा नआएपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको हो । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको अभियोगमा आठ पटक पक्राउ परिसकेको प्रहरीले जनाएको छ । पछिल्लो अनुसन्धानका क्रममा उनले स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको खुलेको छ ।

प्रहरीका अनुसार तामाङले विभिन्न स्थानका गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलको निगरानी गरी सञ्चालकको सम्पर्क नम्बर लिने गरेका थिए । त्यसपछि पुरानो चिनजान भएको भन्दै फोन गरेर विश्वासमा पारी एकान्त स्थानमा बोलाएर लुटपाट गर्ने गरेको पाइएको छ ।

ठगीको योजनाअनुसार उनको समूहका अर्का व्यक्तिले बोल्न नसक्ने व्यक्तिको भूमिका निर्वाह गर्ने र पीडितलाई डलर देखाएर विश्वास दिलाउने गरेको पनि खुलेको छ । प्रहरीको निगरानीबाट बच्न स्थान परिवर्तन गर्ने तथा सीसीटीभी नभएका ठाउँमा लगेर लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङको साथबाट ठगीमा प्रयोग गरिएको मोटरसाइकल, नक्कली नम्बर प्लेट, नेपाली रुपैयाँका चार बन्डल, डलरको आकारमा काटेर राखिएका सेता कागजका बन्डल, माथि र तल राखिएका पाँच–पाँच डलरका नोट तथा एक किलो नक्कली सुन बरामद गरेको छ ।

पछिल्लो पटक तामाङले गत असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा दुई जनाबाट जनही आठ लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गैरकानुनी रूपमा डलरलगायत विदेशी मुद्रा सटही गर्ने कार्य आपराधिक गतिविधि भएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै आउने प्रस्तावप्रति सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?