नेपाली बजारमा सार्वजनिक भयो नयाँ ‘चेरी क्यू’ , एक पटक चार्ज गर्दा ४०० किलो मिटरसम्म यात्रा गर्न सकिने

लोकपथ
28
Shares

काठमाडौं । चेरी गाडीको आधिकारिक वितरक पायनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय गाडी ‘चेरी क्यु’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आधुनिक डिजाइन, प्रविधि, आराम र सुरक्षालाई ध्यानमा राखेर तयार पारिएको यो गाडीले नेपाली बजारमा विद्युतीय सवारीसाधनको अर्को विकल्प थपेको हो ।

चेरी क्युमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री राखिएको छ । कम्पनीका अनुसार एकपटक पूरा चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार गाडीले ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ । फास्ट चार्जिङ सुविधामार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

गाडीमा ९० किलोवाट क्षमताको मोटर छ । यसले ११५ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, यसमा रियर ह्विल ड्राइभ सिस्टम दिइएको छ ।

चेरी क्युको लम्बाइ ४ हजार १९५ एमएम, चौडाइ १ हजार ८११ एमएम र उचाइ १ हजार ५६८ एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।

सामान राख्नका लागि गाडीको अगाडि ७० लिटर र पछाडि ३७५ लिटर क्षमताको ठाउँ उपलब्ध छ । पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने ठाउँ बढाएर १ हजार ४५० लिटरसम्म बनाउन सकिन्छ ।

सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिल असिस्टजस्ता सुविधा छन् । यसका साथै एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि राखिएको छ ।

आरामदायी यात्राका लागि गाडीमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक सस्पेन्सन प्रयोग गरिएको छ । यसले विभिन्न सडकमा यात्रा गर्दा गाडीलाई स्थिर र आरामदायी बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

गाडी सार्वजनिक गर्दै पायनियर मोटो कर्पका प्रबन्ध निर्देशकले चेरी क्युले नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार गाडीमा आधुनिक सुरक्षा प्रविधि, आरामदायी सुविधा र दैनिक प्रयोगका लागि आवश्यक विशेषता समावेश गरिएको छ ।

कम्पनीका अनुसार चेरीका गाडी विश्वका १३० भन्दा बढी देश तथा क्षेत्रमा बिक्री हुँदै आएका छन् । विश्वभर यसका २ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?