पोखरामा बीएआईसी र आर्कफक्सको नयाँ सोरुम सञ्चालनमा, दुई नयाँ एसयूभी सार्वजनिक

लोकपथ
14
Shares

पोखरा । बीएआईसी र आर्कफक्स ब्रान्डका सवारीसाधन बिक्रीका लागि पोखरामा नयाँ सोरुम सञ्चालनमा आएको छ । नेपालका लागि यी दुवै ब्रान्डका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम स्थापना गरिएको हो ।

सोरुमको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र निर्देशक सुनिल श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले पोखरामा सोरुम सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ब्रान्डका नयाँ सवारीसाधन नेपाली बजारमा सहज रूपमा उपलब्ध हुने बताए ।

कम्पनीले सोरुममार्फत बीएआईसी बीजे३०ई (हाइब्रिड) र आर्कफक्स टिवन विद्युतीय गाडी बिक्री गर्ने जनाएको छ ।

एक करोड २५ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको बीएआईसी बीजे३०ई हाइब्रिड एसयूभी नेपालको भौगोलिक अवस्था र लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ । कठिन तथा अप्ठ्यारा सडकमा समेत सहज यात्रा गर्न सक्ने क्षमता यस गाडीको विशेषता रहेको कम्पनीको दाबी छ ।

यसमा ६८५ एनएम टर्क उत्पादन गर्ने पावरट्रेन रहेको छ । कम्पनीका अनुसार यसको पावर आउटपुट ३ हजार सीसी इन्जिन बराबर छ । फोर ह्विल ड्राइभ ९४डब्लूडी० प्रणालीयुक्त यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ ।

कम्पनीले यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरेको छ ।

त्यस्तै, ३७ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको आर्कफक्स टिवन बीएआईसीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्सअन्तर्गतको ईभी हो । यसले एकपटकको पूर्ण चार्जमा ३१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । गाडीमा काल्ब कम्पनीको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त ब्याट्री ३ हजार ५०० पटक चार्ज गर्दा पनि यसको स्वास्थ्य क्षमता ८५ प्रतिशतसम्म कायम रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?