‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू बलियो नैतिक धरातलमा उभिएको कारण कुनै डर नभएको स्पष्ट पारेका छन् ।

विचौलिया इनम सापकोटाको भनिएको बयानको भिडियोमा गगन थापाको नाम समेत जोडिएको भन्दै सरकारले अनुसन्धानका लागि धरपकड गर्ने चर्चा चलिरहेको छ ।

यसैबिच त्यसबारे आफ्नो प्रतिक्रिया दिँदै सभापति थापाले आफू यसअघि पनि बलियो सत्तासँग लड्दै आएको र अहिले पनि सत्यको लागि लडिरहेको बताए । साथै कांग्रेसका नेता कार्यकर्तादेखि सुभेच्छुकहरुलाई आफू उच्च नैतिक धरातलमा उभिएको भन्दै आफ्नो नैतिकतामाथि प्रश्न उठाउने आँट नगर्न समेत चेतावनी दिए ।

‘म गगन थापा तपाईँको दाई, तपाईँको भाई, तपाईँको साथी, तपाईँको छोरा, तपाईँको सभापति कुनै कमजोर धरातलमा उभिएको छैन । मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन । मनमा कुनै कालो छैन, मेरो हात सफा छ, माइ ह्यान्ड्स आर क्लिन । यति नभएको भए लड्ने आँट आउँथ्यो,’ उनले भनेका छन्, ‘म त आज मात्र हो ? यो भन्दा पहिला पनि सत्ताले गलत गरेको बेलामा पनि त्यो बेला लड्दै आएको छु, प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा त गलत हुँदा बोल्न छाडिन् ।’
यसैगरी पार्टीको आधिकारिकताका विषयमा बद्नियतका साथ हल्ला चलाइएको भन्दै त्यसलाई आफूले खारेज गरिदिएको बताए ।

अडियो प्रकरणलाई बाहिर ल्याएर सरकारले आफूमाथि तर्साउन खोजेकोतर्फ इंगित गर्दै सभापति थापाले आफू ‘तर्सिने मानिस नै नभएको र तर्सिने बानी नै नपरेको’ टिप्पणी गरे ।

‘अडियोमा हाम्रो बारेमा केही कुराहरु आयो, त्यस कारणले हामीले हतारहतार डराएर पार्टीका नेताहरु भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरु गर्न थाल्यौँ रे ! अरे बाबा ! मैले त भन्दै आएको छु, म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन,’ उनले भने ।

अहिले चर्चामा रहेको विषय विशेष महाधिवेशनपछि कांग्रेसको आधिकारिकताका लागि आर्थिक चलखेल भएको भन्ने विषयमा समेत स्पष्ट पारेका छन् । उनले बाहिर सार्वजनिक गरिएको अडियो समेत नक्कली हो या सक्कली भन्ने विषयमा आशंका गर्दै पार्टीको आधिकारिकताका विषयमा एक सुको पनि दाँयाबाँया नभएको स्पष्ट पारे ।

आफूहरुले जेनजी विद्रोहपछि पार्टीमा विद्रोह गरेको बताउँदै उनले विद्राहीले कहिले पनि परिणामको चिन्ता नगर्ने बताए ।

‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ र ? के होला भनेर सोच्छ ? सोच्दैन । करोडको कुरा गर्छन्, नेपाली कांग्रेसको आधिकारिकताको विषयमा, कानुनी लडाइमा रुपैयाँ होइन एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,’ उनले भनेका छन् ।

यसैगरी आफूसहित कांग्रेस पार्टी र नेताहरुमाथि लाग्ने आरोपबाट छानबिन र अनुसन्धानका लागि आफूहरु सधैँ तयार रहेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?