भारी हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार

लोकपथ
21
Shares

सुर्खेत । माथिल्लो डोल्पामा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

तीन महिला र तीन पुरुष पर्यटक १४ कात्तिकदेखि हिमाली क्षेत्रमा सम्पर्कविहीन भएका थिए । उनीहरू आवश्यक प्रशासनिक अनुमति नलिई जोखिमपूर्ण हिमाली बाटो हुँदै डोल्पा पुगेका थिए ।

डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसेका थिए । मौसम खराब भएपछि उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो ।

सोमबार बिहान गएको हेलिकोप्टरले पहिलो उडानमा दुई महिला पर्यटकको उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । त्यसपछि दोस्रो उडानमा बाँकी एक महिला र तीन पुरुष पर्यटकको पनि उद्धार गरिएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा १४ कात्तिकमै पर्यटकहरू हिमपातमा फसेको जानकारी आएको थियो । त्यसपछि उद्धारको प्रयास थालिए पनि खराब मौसम र हेलिकोप्टर व्यवस्थापनमा समस्या हुँदा उद्धारमा ढिलाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?