झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम तीव्र बनाउन निर्देशन दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा मन्त्री रावलले हालसम्मको प्रगति सन्तोषजनक नरहेको बताइन् ।
उनले अपेक्षाअनुसार भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण हुन नसकेको भन्दै अब काममा ढिलाइ नगर्न निर्देशन दिइन् ।
‘यतिका दिनसम्मको प्रगति सन्तोषजनक मान्न सकिँदैन । भूमिहीनलाई हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने हो, तर अपेक्षित उपलब्धि देखिएको छैन,’ उनले भनिन् ।
सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा थप समस्या भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानमा सरकार गम्भीर रहेको भन्दै उनले प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।
‘जिल्ला भूमि समस्या समाधान समितिलाई प्रशासनिक रूपमा काम गर्न अब कुनै समस्या छ जस्तो मलाई लाग्दैन । सरकार यो समस्या समाधान गर्न दिन गनेर लागिपरेको छ । त्यसैले परिणाम देखिने गरी कामलाई तीव्रता दिनुहोस्,’ मन्त्री रावलले भनिन् ।
सरकारको प्राथमिकताअनुसार भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गरी पुर्जा वितरणलाई उपलब्धिमूलक बनाउन उनले आग्रह गरिन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले पनि भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्न कामलाई तीव्रता दिनुपर्ने बताए । जनताको गुम्दै गएको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय झापाका प्रमुख शिवप्रसाद लम्सालका अनुसार जिल्लामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई मात्र जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्नो पालिकामा भूमि समस्या समाधानका लागि भएका प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया