झापामा भारतीय फूलको अवैध आयात रोक्न प्रशासनको कडाइ, प्लास्टिकका फूल बिक्री गरे कारबाही

लोकपथ
28
Shares

झापा । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अवैध रूपमा आयात गरिएका फूल तथा प्लास्टिकबाट निर्मित कृत्रिम फूलको आयात, बिक्री वितरण र भण्डारण नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी उत्पादन, सिर्जनशीलता र उद्यमशीलतालाई प्रवर्द्धन गर्न गैरकानुनी रूपमा फूल आयात गर्न रोक लगाइएको जानकारी दिएका हुन् ।

खुला सीमाको फाइदा उठाउँदै तिहार, छठलगायतका पर्वमा ठूलो परिमाणमा खपत हुने फूल भारतबाट अवैध रूपमा आयात हुँदै आएको थियो । यसले स्थानीय किसानले उत्पादन गरेका फूलले बजार नपाउने र उनीहरूको लगानी जोखिममा पर्ने समस्या देखिएको थियो ।

झापामा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानहरूले आयातित फूलका कारण स्वदेशी उत्पादन खेर गइरहेको भन्दै अवैध आयातमा पूर्ण प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयसँग सामूहिक माग गर्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाको मागअनुसार स्थानीय उत्पादनले नै बजारको आवश्यकता पूरा गर्न सक्ने अवस्था रहेको बताए । उनले यस वर्षको चाडपर्वमा स्वदेशी सयपत्री र मखमली फूल प्रयोग गरी स्थानीय किसानलाई प्रोत्साहन गर्न जिल्लावासीलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नुभएको छ । जिल्लाका युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरी हाम्रै किसानलाई प्रोत्साहन गर्न सम्पूर्ण जिल्लावासीलाई हार्दिक आग्रह गर्दछु ।’

यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्तिलगायतका स्थानीय तहमा दर्जनौँ किसानले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन् । चाडपर्वका बेला घरआँगन सजावट तथा शृङ्गारका लागि स्थानीय स्तरमै उत्पादित प्राकृतिक फूल पर्याप्त हुने अनुमान गरिएको छ ।

प्रशासनको निर्णयले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात नियन्त्रण हुनुका साथै स्थानीय फूल उत्पादक किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको मेचीनगर–४ का किसान नीलकण्ठ तिवारीले बताए ।

त्यसैगरी, प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका कृत्रिम फूल बिक्री वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनको यस कदमले स्थानीय फूल खेतीको प्रवर्द्धन, किसानको आम्दानी वृद्धि र स्वदेशी उत्पादनको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?