काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न मिल्ने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड नगरी वा अर्को एप नखोली जेमिनाईमै आवश्यक परिवर्तन गर्न सक्ने भएका छन् ।
यो सुविधाबाट प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट र कोडलगायतका फाइल सम्पादन गर्न सक्नेछन् । फाइललाई ठूलो आकारमा खोलेर त्यसमा भएका सामग्री थपघट गर्न पनि मिल्नेछ ।
त्यस्तै, फाइलको कुनै एउटा भाग छानेर त्यसबारे प्रश्न सोध्न, लेखिएको कुरा परिवर्तन गर्न वा नयाँ निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएका सामग्रीलाई सजिलै सुधार गर्न मद्दत गर्नेछ ।
तर, सबै फाइल सम्पादन गर्ने सुविधा मोबाइलमा उपलब्ध छैन । पीडीएफ फाइल हेर्न र सम्पादन गर्न मोबाइल तथा वेब दुवैमा सकिन्छ । गुगल डक्स, सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल भने हाल वेब संस्करणमा मात्र सम्पादन गर्न सकिन्छ ।
गुगलका अनुसार यो सुविधा सबै जेमिनाई प्रयोगकर्ताका लागि उपलब्ध छ र एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिन्छ ।
नयाँ सुविधाले प्रयोगकर्तालाई एउटै च्याटबाट फाइल बनाउनेदेखि सम्पादन गर्ने कामसम्म गर्न सजिलो बनाउनेछ । यसका लागि पटकपटक अर्को एप खोल्नुपर्ने झन्झट पनि कम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया