घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, तीन महिनामै कमायो १० करोड ७७ लाख

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको बैंकले यस वर्ष भने १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

बैंकको नाफामा सुधार देखिए पनि ब्याज आम्दानी भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ६ करोड रुपैयाँ थियो ।

बैंकको ब्याज खर्च पनि घटेको छ । गत वर्षको तुलनामा १२ प्रतिशतभन्दा बढीले घटेर ब्याज खर्च २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको नाफामा सुधार ल्याउन सहयोग गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

बैंकले सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानी बढाएर ३६ करोड ८८ लाख रुपैयाँ पुर्‍याएको छ । तर व्यापार तथा अन्य सञ्चालन आम्दानी भने घटेर १६ करोड रुपैयाँमा झरेको छ ।

त्यस्तै, गैरसञ्चालन आम्दानी २४३ प्रतिशतभन्दा बढीले बढेर ४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकले ऋण जोखिम व्यवस्थापनका लागि छुट्याउने रकम पनि घटाएको छ । इम्पेरिमेन्ट चार्ज करिब ३८ प्रतिशतले घटेर १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको सञ्चित नाफा ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । तर वितरणयोग्य नाफा भने अझै ४५ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । यसको अर्थ बैंकले तत्काल शेयरधनीलाई लाभांश बाँड्न सक्ने अवस्था बनाइसकेको छैन ।

बैंकको निक्षेप र कर्जा दुवै बढेका छन् । समीक्षा अवधिमा बैंकले २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको सीडी रेसियो करिब ७५ प्रतिशत रहेको छ ।

यसैगरी, बैंकको खराब कर्जा (एनपीएल) पनि घटेको छ । गत वर्ष ६.८४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष घटेर ५.७८ प्रतिशतमा आएको छ। खराब कर्जा घट्नु बैंकका लागि सकारात्मक संकेत हो ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार आएको छ । गत वर्ष ५ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको ईपीएस यस वर्ष बढेर १४ रुपैयाँ १८ पैसा धनात्मक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?