प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, खराब कर्जा १४.८० प्रतिशत पुग्यो

लोकपथ
49
Shares

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको तुलनामा नाफा बढाएको छ । तर, बैंकको निष्क्रिय कर्जा भने उल्लेख्य रूपमा बढेको छ। यसले बैंकको वित्तीय अवस्थामाथि चुनौती थपिएको देखाएको छ ।

बैंकले साउनदेखि असोज मसान्तसम्म ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको नाफा ८.१० प्रतिशतले बढेको हो ।

बैंकको नाफा बढ्नुको मुख्य कारण खराब कर्जाको जोखिम व्यवस्थापनका लागि छुट्याइएको रकम घट्नु हो । गत वर्ष १ अर्ब ३७ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ५८ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

तर, बैंकका लागि सबैभन्दा ठूलो चुनौती निष्क्रिय कर्जा बनेको छ । गत वर्ष ५।७८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १४।८० प्रतिशत पुगेको छ । यसले बैंकले प्रवाह गरेको कर्जा असुलीमा समस्या बढ्दै गएको संकेत गर्छ ।

त्यस्तै, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी पनि घटेको छ। गत वर्ष पहिलो तीन महिनामा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २ अर्ब ३३ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । बैंकको सञ्चालन आम्दानी पनि घटेर करिब १ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको वितरणयोग्य नाफा ६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी छ भने जगेडा कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम रहेको छ । बैंकले यस अवधिसम्म ३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । त्यस्तै, २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?