पोखरा । मौसम खराब भएपछि पोखरासहित अन्नपूर्ण क्षेत्रका पर्यटकीय गतिविधि प्रभावित भएका छन् । दसैँपछि पर्यटकको चहलपहल बढ्दै गएको समयमा शुक्रबारदेखि भएको वर्षा र हिमपातले पर्यटन क्षेत्रमा असर पारेको हो ।
अहिले पदयात्राका लागि उपयुक्त समय भए पनि मौसम बिग्रिएपछि पर्यटकको आवागमन घटेको छ । कतिपय पर्यटकले मौसमकै कारण आफ्नो यात्रा रद्द गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले मौसम खराब हुँदा पर्यटन क्षेत्रमा असर परेको बताए । उनले जोखिम भएका ठाउँमा मात्र पदयात्रा रोक्नुपर्ने बताए । सबै ठाउँमा एकैपटक पदयात्रा रोक्दा नेपालका पदमार्ग असुरक्षित छन् भन्ने सन्देश जान सक्ने उनको भनाइ छ ।
वर्षा र बादलका कारण हिमाल तथा पहाडी क्षेत्रको दृश्य पनि स्पष्ट देखिएको छैन । यसले हिमाल र पहाडको सुन्दर दृश्य हेर्न आउने पर्यटकलाई निराश बनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा। रवीन कडरियाका अनुसार मौसम खराब हुँदा केही दिनयता अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल घटेको छ । मौसम खुलेपछि पर्यटकको संख्या फेरि बढ्ने उनले बताए ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, हिमाल, वनजंगल, जैविक विविधता र स्थानीय संस्कृतिका कारण पर्यटकमाझ लोकप्रिय छ । कास्की, लमजुङ, मनाङ र म्याग्दीलगायत जिल्लाबाट यस क्षेत्रमा पदयात्रा गर्न सकिन्छ ।
गत असोजमा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये दक्षिण एसियाली देशका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक थिए ।
अहिलेको पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीमा पर्यटकको चहलपहल बढ्ने गर्छ ।
मौसम खराब हुँदा पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ, हट एयर बेलुन, अल्ट्रालाइट र स्काइडाइभिङजस्ता साहसिक गतिविधि पनि प्रभावित भएका छन् । मौसममा सुधार आएपछि पर्यटन गतिविधि फेरि बढ्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया