हेटौँडा । लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले नदीकिनारबाट टाढा अग्लो तथा सुरक्षित स्थानमा बस्न र आयोजनाबाट जारी गरिने सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेका छन् ।
यसैबीच, जलविद्युत् केन्द्रले सम्भावित जोखिमलाई मध्यनजर गर्दै चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा पूर्वसूचनाका लागि चेतावनी साइरन बजाइने केन्द्रका प्रमुख राउतले बताएका छन् ।
उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रुलाई समेत विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
आयोजनाले जारी गर्ने सूचना र चेतावनीलाई गम्भीरतापूर्वक लिन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया