एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी भने घट्यो

लोकपथ
42
Shares

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्ष २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँमा झरेको छ। यो १।३५ प्रतिशतको गिरावट हो ।

खुद ब्याज आम्दानी घटे पनि बैंकको शुल्क तथा कमिसन र ट्रेडिङबाट हुने आम्दानी बढेको छ । बैंकले शुल्क तथा कमिसनबाट ६० करोड २९ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यस्तो आम्दानी ५५ करोड ३५ लाख रुपैयाँ थियो ।

त्यस्तै, ट्रेडिङ आम्दानी पनि बढेर २५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १४ करोड ९५ लाख रुपैयाँ थियो ।

यससँगै बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ थियो ।

बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नुले पनि सहयोग गरेको देखिन्छ । गत वर्ष ४२ करोड ३१ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष २३ करोड ३४ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ७२ करोड १५ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात पनि घटेको छ । गत वर्ष ०.७४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष घटेर ०.५० प्रतिशतमा झरेको छ। यसले बैंकको कर्जा गुणस्तरमा सुधार आएको देखाउँछ । कुल निष्क्रिय कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने २९५.४६ प्रतिशत रहेको छ ।

बैंकको कुल पुँजी पर्याप्तता अनुपात ११.७८ प्रतिशत र टियर वान पुँजी अनुपात ९.४५ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा–निक्षेप अनुपात ७५.४३ प्रतिशत, आधार दर ४.२५ प्रतिशत, लागत कोष २.९७ प्रतिशत र ब्याजदर अन्तर २.९६ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर कुल सम्पत्ति २ हजार ७९० रुपैयाँ ५४ पैसा रहेको छ । बैंकको वार्षिकीकृत सम्पत्तिमा प्रतिफल १.२८ प्रतिशत र इक्विटीमा प्रतिफल १४.२८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?