काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सबै राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी थालेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका विषयमा राष्ट्रिय साझा धारणा निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले सत्तापक्ष र प्रतिपक्षी दलका प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल गरिएको थियो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको छलफलमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप–३१ मा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विचारविमर्श भएको थियो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद् न्यूनीकरण, जलवायु न्याय, स्वच्छ ऊर्जा र जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्नेमा सरकारले जोड दिएको छ ।
सरकारले राजनीतिक दलहरूबीच साझा समझदारी कायम गरी जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय एकता प्रदर्शन गर्ने र नेपालको हितलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया