बाढीपहिरोले तीन जिल्लाका सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द

लोकपथ
119
Shares
तस्बिर : एआई, सांकेतिक

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले पुल बगाउनुका साथै सडकमा पहिरो खस्दा स्थानीय तथा लामो दूरीका सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएको छ । पुल बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

बाढीपहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित भएपछि सम्बन्धित क्षेत्रका यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?