अपराह्नपछि वर्षा र हिमपात घट्ने, मौसममा सुधार आउने

लोकपथ
147
Shares

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात कम भएसँगै मौसममा क्रमिक सुधार आउने सम्भावना छ ।

महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ। त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ भने मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम प्रणालीको प्रभावका कारण अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै उक्त मौसमी प्रणालीबारे जानकारी गराएको हो । अपराह्नपछि भने मौसमी प्रणालीको प्रभाव कमजोर हुँदै जाने र वर्षा तथा हिमपातमा क्रमिक कमी आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?