सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा

लोकपथ
14
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकको सेवालाई अझ आधुनिक, सहज र गुणस्तरीय बनाउँदै लैजाने बताए ।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक काम गर्ने घोषणा पनि गरेको छ । बैंकले हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्य चौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

त्यस्तै, सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिने बैंकले जनाएको छ ।

यसैगरी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरिएको छ ।

कार्यक्रममा बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकलाई अझ सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?