सशस्त्रका एसपी दीपेन्द्र कुँवरमाथि आफ्नै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप, छानबिन समिति गठन

लोकपथ
4.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित कञ्चनपुरको झलारीस्थित एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र कुँवर ‘क’ माथि आफ्नै महिला स्टाफ कर्मचारीमाथि अनैतिक सम्बन्ध राखेको आरोप लागेको छ । 

सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका एसपी कुँवरमाथि  यस्तो आरोप लागेपछि सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय धनगढीले छानबिन प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार, सो बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डे नेतृत्वको समितिले छानबिन अघि बढाएको हो । 

अर्को स्रोतका अनुसार, एसपी कुँवरमाथि जुन महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ, तिनै महिलाले भने आफूमाथि दुर्व्यवहार नभएको प्रष्टीकरण दिइसकेकी छिन् । 

छानबिन समितिका संयोजक रहेका एसएसपी पाण्डेले भने उक्त विषयमा अनभिज्ञता प्रकट गरे । उनले लोकपथसँगको कुराकानीमा सुरुमा पहिल्यैको विषय भएको र त्यति जटिल नभएको बताए । तर पछि भने आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको दाबी गरे । 

‘यो पहिल्यैको विषय हो । बाहिर के आयो तर त्यस्तो जटिल विषय भने होइन,’ एसएसपी पाण्डेले लोकपथसँग भने, ‘म भर्खर यहाँ (धनगढी) आएका कारण मलाई त्यस विषयमा जानकारी भएन ।’

यता विद्यालय समादेशक एसपी कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको फोन स्विच अफ छ । विद्यालय समादेशकले बोक्ने मोबाइल नम्बर भने अर्कै व्यक्तिले उठाए ।

कञ्चनपुरको झलारीस्थित नेपाल एपीएफ स्कुल सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोषद्वारा सञ्चालित गैरनाफामूलक आवासीय शैक्षिक संस्था हो । यो स्कुल कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ झलारीमा अवस्थित छ ।

यो विद्यालय २०८० साल पुस २२ गते स्थापना भएको हो । शैक्षिक सत्र २०८१ (सन् २०२४) देखि कक्षा ४ र ५ बाट यसको पठनपाठन औपचारिक रूपमा सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?