प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी

लोकपथ
357
Shares

जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका रेल्वे, भन्सार तथा सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भए पनि उद्घाटनको मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन् ।

जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्न आवश्यक व्यवस्थाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् । रेल यात्रु र रेलको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकाय परिचालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलमार्गको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

यो रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ बलियो हुने अपेक्षा गरिएको छ । साथै, दुवै देशका तीर्थयात्री र धार्मिक पर्यटकलाई आवतजावत गर्न सहज हुनेछ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यस सेवाले धार्मिक पर्यटन बढाउनुका साथै स्थानीय व्यापार र आर्थिक गतिविधिमा पनि सहयोग पुग्ने बताए ।

हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?